राजा ज्ञानेन्द्रले आफ्नो ६१ औं जन्मदिवस बडो धुमधामले मनाउने तयारी गर्दैछन् । राजसंस्था संकटग्रस्त अवस्थामा रहेको बेला हुन लागेको उनको जन्मदिनको समारोहलाई आलोचकहरुले ‘अन्तिम भोज’ को संज्ञा दिन थालेका छन् । कतिपय नेताहरुले चाहिँ अहिलेको अवस्थामा उनलाई यस्तो भव्य कार्यक्रम आयोजना गर्न दिन नहुने माग राख्दैछन्।राजाको रुपमा यो ज्ञानेन्द्रको अन्तिम जन्मदिवस हुन सक्छ । यदि संविधान सभाको चुनाव तोकिएको मितिमा भइहाल्यो भने राजसंस्था नामेट हुने लगभग पक्का छ भने भएन भने पनि अब लामो समयसम्म नेपालमा राजतन्त्र कायम रहने स्थिति छैन । किनभने संसदले नै राजालाई खारेज गर्न सक्ने संविधान तयार भएको छ । यो संकटका बारेमा राजा अवश्य पनि अनभिज्ञ छैनन् । र उनी मानसिक रुपमा निकै तनाव झेलिरहेको हुनुपर्छ । त यस्तो अवस्थामा आफ्नो जन्मदिन धुमधामले मनाउने र नागरिक अभिनन्दन समेत ग्रहण गर्ने लालसा र जाँगर उनमा किन पलायो होला ।
यसका केही कारण हुन सक्छन् । पहिलो जस्तोसुकै संकटको अवस्था भए पनि आफू विचलित भएको छैन भनेर दुनियाँलाई देखाउन चाहन्छन् । दोस्रो आफू चाँडै समाप्त हुँदैछु भन्ने महसुस गरेर आफ्ना बचेखुचेका समर्थकहरुबाट जयजयकार सुनेर र अनिभन्दन ग्रहण गरेर क्षणिक तुष्टी लिन खोजीरहेका छन् । अर्को एउटा कारण पनि हुन सक्छ त्यो के भने उनी आफ्नो अस्तित्व जोगाउनका लागि अन्तिम प्रयास गर्दैछन् ।
राजाले आफ्नो जन्मदिवसमा माओवादीसहितका राजनीतिक दल एवं विदेशी कुटनितिज्ञहरुलाई आमन्त्रण गरेर उनीहरुसँग सम्वन्ध पुनर्स्थापित गर्न खोजेको हुनसक्छ । तर उनको यो रणनिती असफल हुने पक्का छ । किनभने ढल्न लागेको राजसंस्थासित हात मिलाउने जोखिम उठाउन न राजनीतिक पार्टीहरु तयार छन् न त विदेशीहरु नै ।
राजाका समर्थकहरुले राजाको जन्मदिनमा उनलाई अभिनन्दन चढाउने कार्यक्रम सार्वजनिक गरिसकेका छन् । कम्तिमा उनीहरुले यो कार्यक्रम गुपचुप रुपमा नभइ घोषित रुपमै आयोजना गर्ने साहस गरेका छन् । यद्यपि यो कार्यक्रम वाइसिएल वा अरु विद्यार्थी संगठनहरुले भाड्न सक्ने प्रबल संभावना छ ।



