मिति २०६३ साल २८ असार बिहिबार
नारायणहिटी दरवारको एउटा वैठक कक्ष । राजा ज्ञानेन्द्र चिउँडोमा हात लगाएर नजिकै रहेको टिभिमा नाकै ठोकिएला जस्तो गरि एकोहोरिएका छन् । अचानक के मुड चल्छ रिमोट दवाएर झ्याप्प टिभी बन्द गर्छन् र जुरूक्क उठ्छन् । एकछिन भित्रै ओहोर गर्छन्, अनि छेउमा राखिएको सोफामा थचक्क बस्छन् र पुर्पुरो समाएर भुत्भूताउन थाल्छन्….
‘हेत्तेरी ! के दशा लाग्यो यस्तो । हुँदा हुँदा अब त खाइपाइ आएको तलबभत्ता समेत खोसियो । अब के गरी गुजारा चलाउने होला हरे । यतिका जहान परिवार कसरी पाल्ने ।
पुरानै मुर्ति पेशामै फर्किनुपर्छ कि जस्तो छ । तर अब पहिला जस्तो सजिलो छैन अहिले। खुय्य्य्य ! बरु विदेशतिर पस्नुपर्छ कि क्या हो ।
हुन त गिरिजाले केही गरिहाल्छन् कि । संविधानसभासम्म पर्खिनु भनेको छ बुढाले, पर्खिनैपर्ला । नाति केटोलाई बनाइदिए भने पनि भैहाल्यो नी (अनुहारमा अलिकति मुस्कान आउँछ) । तर अब खर्च पो कसरी चलाउने होला । गिरिजासित एकचोटी आफैंले भेटेर कुरा गर्न पाए पनि हुन्थ्यो…. ‘
‘केही भन्यो त बजेटमा ?’ रानी कोमलको आवाजले राजा झस्किन्छन् । हातमा चियाको कप लिएर आएकी कोमल राजासँगै सोफामा टाँसिएर बस्छिन्- ‘यी चिया लिस्यो ।’
‘के भन्थ्यो असतिले । दरबारको त द पनि उच्चारण गरेन’ – कालो चियाको कप समात्दै चिन्तित मुद्रामा ज्ञानेन्द्र भन्छन् ।
‘सुसारेहरु पनि अब अर्को हप्तादेखि काममा नआउने रे । सरकारले तलबै नदिने भएपछि के काम गर्ने भन्दैछन्’- कोमल
‘ठिकै छ, तेरो जीउको बोसो अब भने घट्ने भो’÷ मन नलागि नलागि ठट्टा गर्छन् ज्ञानेन्द्र ।
‘अब के ठट्या गरिस्यानी । कसरी घर खर्च चलाउने भन्ने सोच्नु परेन ? भएको अलिअलि पैसा पनि भोजमा सकिगो । मैले नगरौं भन्दा मानिस्येन । बेकारमा खाइ नपाइ छालाको टोपी लाइ भनेको जस्तै भो ।’
एकछिन सोचेर फेरी भन्छिन्- ‘पशुपतिलाई एकचोटी फेरी गिरिजासित कुरा गर्न पठाउने कि। यसो तानतुन गरेर भए पनि गुजारा चल्ने उपाय गर्दिन्छन् कि ।’
ख्वै अब त पशुपतिनाथलाई नै पठाए पनि क्यै होला जस्तो छैन – ज्ञानेन्द्र
अचानक फोनको घन्टी बज्छ ।
‘गिरिजाले गर्या जस्तो छ, बजेटको विषयमा कुरा गर्न । उठाउ त ।’- ज्ञानेन्द्र
कोमल फोन उठाउँछिन् ।
हेलो
गिर्जाबाबु नमस्कार
गिर्जाबाबु होइन ! को बोल्नुभा त ?
केको मिति भन्नुभाको ? ए छानविन समिति ? एकछिन् है
छैन भन्दे छैन भन्दे- ज्ञानेन्द्र कराउँछन् ।
उहाँले भन्नुभाको उहाँ त हुनुहुन्न रे
हरे कस्ती लठेप्री रैछ । – ज्ञानेन्द्र मुर्मुरिन्छन् ।
खै ले म आफैं कुरा गर्छू ।
हेलो
हामी श्री ५ महाराजाधिराज ज्ञानेन्द्र नै होइबक्सन्छौं
ए ल ठिक छ, मैले बुझेँ
फोन हतपत राख्छन् ।
र फेरी सोफामा थचक्क बस्छन् र मनमनै मुर्मुरिन्छन्- बयान दिन आउनुपर्यो रे । यत्रो दिन्छु बयान ! के गर्न सक्छौ म पनि हेर्छु ।
फेरी केभो । चिया सेलायो खानु चाँडो ।- कोमल सान्त्वना दिन्छिन् ।
साँचि त्यो पारे कता मर्यो – चियाको सुर्को लिदै ज्ञानेन्द्र सोध्छन् ।
ख्वै, साथीकहाँ जान्छु भन्थ्यो, त्यै ईच्छा भन्ने बाइफालेसित लठारिदै होला । हिजो राती पनि रक्सी खाएर बुहारीलाई कुटेछ ।
ज्ञानेन्द्र सोचमा पर्छन् – एउटा भएको छोरा पनि कस्तो हरामी भयो । तीन्टा छोराछोरीको बाउ भएर अझै यो मति छ, कुजात ! तेसको बाउको यहाँ के हालत भइसको केही मतलव छैन । कैले आउला यसको बुद्धि ।
‘के सोचिरनुभाको ? बरु छोरालाई कतै काम लगाउनुपर्यो, नत्र कसरी चल्छ ।’
‘के काम गर्ला र यो छाडाले । फेरी यसलाई काम पो कसले देलान् र ।’ एकछिन सोचेर फेरी भन्छन् – ‘यसलाई त बरु कोरियातिर पठाइदिनुपर्छ कि जस्तो छ । कोरियामा कोटा खुल्दैछ रे चाँडै ।’
फेरी फोनको घण्टी बज्छ । अहिले चाहिँ पक्कै गिरिजाको हुनुपर्छ ।
कोमल फोन उठाउँछिन् ।
हेलो
को बोल्नुभो
सरकार !
ए पत्रकार
पत्रकार रे ! एउटा हातले फोनको मुख छोपेर फुस्फुसाउँछिन् ।
खै ले ज्ञानेन्द्र फोन समात्छन् ।
पत्रकार : सरकार बजेट कस्तो लाग्यो ?
ज्ञानेन्द्र : भूँइचालो जस्तै लाग्यो ।
पत्रकार : कु गर्ने बारेमा सोच्नुभएको छ कि ?
ज्ञानेन्द्र : छैन । अहिले त सु गर्ने बारेमा पनि सोचेको छैन ।
फोन झ्याप्प राख्छन् ।
तत्काल फेरी फोन आउँछ । यसपटक बुढा आफैं फोन उठाउँछन् । ज्ञानेन्द्रको अनुहारमा
एकाएक चमक आउँछ । कसको फोन होला र के कुरा भयो होला तपाईंहरु गेस गर्नुस ।



सार्है हास उठ्यो । मजाको लेख लेख्नु भयो‚ भविष्यमा पनि यस्तै यस्तै स्वादिष्ट लेखहरुको आशा गर्दछु ।
After that buget i think our fevil king will stay in pashupati nath for collection funds but. my thinking fail.s